ज्येष्ठ नागरिकको खुशी फर्काउने ज्येष्ठ नागरिक केन्द्र 

RadioSiddhababa

कल्पना भुजेल सिन्धुली ।

सिन्धुली भिमानका हरिबहादुर थापा उमेरले ८५ वर्ष पुग्नु भयो । उमेरले पाको भए पनि फुर्तिलो देखिनु हुन्छ । थापा हिँडडुल, घुमफिर गर्न खुब मन पराउनु हुन्छ । आफ्ना दौँतरी उमेरका साथीहरूलाई भेट्न  र बसिबियालो गर्न अचेल थापा कमलामाई नगरपालिका ९ भिमानमा रहेको ज्येष्ठ नागरिक दिवा भेटघाट केन्द्रमा पुग्नु हुन्छ । परिवारमा श्रीमती सहित २ छोरा बुहारी र नातिनातिनी छन् । सबैको आफ्नै दैनिकी छ,काममा व्यस्त हुन्छन् बुढापाकाको कुरा सुनेर बस्ने फुर्सद कसैलाई छैन । 


थापालाई विगतका दिनहरू र अहिले परिवर्तन भएको समसामयिक विषयमा कुराकानी गर्न मन पर्छ । उहाँले भन्नुभयो ‘हाम्रो पालामा पहिले ६० रुपैयाँमा रहर लाग्दा हल गोरु आउँथ्यो, अहिले ६० हजार पर्छ, तर अब हलगोरु जोत्ने समय गयो, अहिले त नयाँ प्रविधि भन्छन् ट्याक्टरले जोत्छन्’ । साथीहरूले कुरामा कुरा थपी दिन्छन् हो मा हो मिलाइदिन्छन्, केही कुरा पहिलेको समयमा राम्रो थियो, केही कुरा अहिलेको समयमा राम्रो छ, एक अर्काले सहमति जनाउँदै रमाइलो गर्छन् ।

 

थापाले पहिले दाजुभाइ अंशबन्डाको नाममा झैझगडा गरेको दिनको सम्झना गर्दै भन्नु भयो ‘पहिले अंश बन्डा भएपछि दाजुभाइ सँग बोलचाल नै बन्द हुल्यो तर अहिले समय फेरियो, चेतनाको विकास भयो, अंश बन्डाले सम्बन्ध सकिँदैन’। ज्येष्ठ नागरिकहरूलाई सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताको विषयमा पनि दिवा भेटघाट केन्द्रमा थापा आफ्नो साथीहरू सँग खुबै गफिनु हुँदो रहेछ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताले परिवारको बोझ बनेका छैनौँ । पैसा आफ्नो इच्छाले खर्च गर्न पाएका छौँ ।

 

 

सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताको रकम घरमा खर्चको लागि परिवारलाई पनि दिनु हुदो रहेछ । सामाजिक सुरक्षा भत्ताले परिवारको आर्थिक भार घट्ने उहाँको भनाई छ । सरकारले दिएको सामाजिक सुरक्षा भक्ताका कारण आफूलाई खर्च गर्न, घुमफिर गर्ने कसैलाई पैसा मागी रहन नपर्ने भएपछि ज्येष्ठ नागरिकहरूले आफ्नो स्वइच्छाले खान, खर्च गर्ने पाउने बताउनु हुन्छ । ज्येष्ठ नागरिकहरू दिवा भेटघाट केन्द्रमा हरेक शनिवार एकादशीमा भजन किर्तन नाचगान गरेर खुब रमाइलो गर्छन थापाको धर्मकर्ममा एकदमै रुचि छ । 


जेष्ठ नागरिक दिवा केन्द्रमै भेटिनु भएका अर्का जेष्ठ नागरिक जिवनाथ अधिकारी ७३ वर्ष पुग्नु भयो । उहाँ एक्लै बस्नु हुन्छ । परिवार काठमाडौँ बस्छन् । छोरा बुहारी सँगै बिरामी श्रीमती पनि काठमाडौँ बस्न थाले पछि अहिले उहाँ एक्लै बस्दै आएको बताउनु भएको हो । आफ्नो गाउँ ठाउँमै बस्ने रहर लागेर उहाँ सहर जानु भएन । ‘उहाँ भन्नु हुन्छ छोरा बुहारीले सँगै उतै जाऊँ भन्छन् तर गाउँमा ठुलो ठाउँमा हिँडडुल गरिरहेको मान्छे सहरमा साँघुरो ठाउँमा बस्न मन लागेन, बिहान घरमै पूजाआजा गर्दै समय बित्छ, खानपिन पछि दिउँसोको समयमा ज्येष्ठ नागरिक दिवा भेटघाट केन्द्रमा आएर समय बिताउँछु यहाँ आए पछि एक्लोपनको महसुस हुँदैन’। 


सरकार र सामाजिक सुरक्षा भत्ता आफ्नो साथमा छ । बिहान बेलुकीको समय घरमै बिते पनि दिउँसोको समयमा आफ्ना साथी समूहमा सुख, दुख र तिता मिठा अनुभव साट्न पाइन्छ  । ज्येष्ठ नागरिकहरू धेरै काम गर्न सक्दैन, परिवारमा घरका मानिसहरूलाई बुढापाकाका कुरा सुनेर बस्ने फुर्सद हुँदैन, दिवा भेटघाट केन्द्रमा भने आफू जस्तै साथीहरू हुन्छन् कुराकानी गर्दा समय बितेको पत्तो नै नहुने उहाँले बताउनु भयो ।परम्परागत कुरा मासिँदै गएकोमा उहाँलाई चिन्ता छ ।

 

 

परम्परागत सबै अभ्यास गलत नभएको उहाँको तर्क छ । पहिलेको आगार्निक खाने कुरा, परम्परागत खेती प्रणाली, मौलिकताहरू मासिँदै गएको उहाँको भनाई छ । पहिलेका खानेकुराहरू आर्गानिक र स्वस्थ थिए, तर अहिले त्यस्तो नभएका बताउनु हुन्छ । सुविधा खोज्दै सहर केन्द्रित भए पछि परम्पराहरू मासिँदै गयो, धर्म संस्कृति संस्कार हराउँदै गएकोमा चिन्ता छ । सुविधा खोज्दै सबै सहर गएपछि गाउँघर सुनसान हुन थालेको छ । बुढापाकाहरू सँग परिवार टाढिए पछि बालबालिकाहरूले ज्येष्ठ नागरिक सँग बस्ने र उनीहरूको अनुभव सुन्ने सिक्ने अवसर पाएका छैनन् ।

 

अभिभावक काममा नै व्यस्त हुँदा बालबालिकाले व्यवहारिक ज्ञान सिक्न नपाएको उहाँले बताउनु भयो । ज्येष्ठ नागरिकको अनुभवहरूलाई नयाँ पुस्ताको माझमा लान तथा पुस्ता हस्तान्तरण लागि अभिभावकको महत्वपूर्ण भूमिका हुने उहाँ बताउनु हुन्छ । कमलामाई नगरपालिका ४ की उमादेवी शर्मा उमेरले ८० वर्ष पुग्नु भयो । ५ जना छोराछोरीका १२ जनाको नातिनातिना छन् तर सबै आफ्नै दैनिकीमा छन् । बुढेसकालमा सुगर प्रेसरको बिरामी भए पछि धेरै जसो समय घरमा नै बिताउनु हुन्छ । पहिले शीतल तथा घाम ताप्नको लागि चौताराहरू हुन्थे, अहिले त्यस्ता संरचना मासिँदै गएकोमा उहाँलाई पनि चिन्ता छ ।

 

पहिलेको समयमा जस्तो सार्वजनिक वृक्ष, चौतारो अहिले संरक्षण नभएका कारण कति पय पछिल्लो पुस्ताहरूले थाहा नै नपाउने उहाँको भनाई छ । उमेर बढ्दै गए सँगै विभिन्न समस्याहरू आई लाग्ने बताउँदै उहाँले, सुख दुख साट्नको लागि आफ्नो उमेरको साथीहरू सँग भेटघाट आवश्यक भएको बताउनु भयो । परिवारमा जेष्ठ नागरिकको कुरा सुनेर बस्ने फुर्सद कसैलाई पनि नभएको कारण आफू जस्तै उमेरका साथीहरू भेट्न ज्येष्ठ नागरिकहरूको लागि दिवा भेटघाट केन्द्र अति नै महत्त्वपूर्ण र प्रभाकारी भएको उहाँको भनाई छ ।   

 


 

 

सरकारले निर्माण गरिदिएको दिवा भेटघाट केन्द्र उपयोगी रहेको ज्येष्ठ नागरिक सङ्घ सिन्धुलीका अध्यक्ष देवी प्रसाद देवकोटाले बताउनुभयो । जाडो तथा गर्मीको समयमा यस्ता केन्द्रमा बसेर ज्येष्ठ नागरिकले समय बिताउन सक्ने उहाँको भनाई छ । ज्येष्ठ नागरिक केन्द्रिमा सेवा सुविधा थप भए झनै सहज हुने उहाँको भनाई छ ।  सिन्धुलीको कमलामाई कमलामाई नगरपालिकाको  १ नम्बरको मझीनिदमारमा ५ नम्बरको सिलामेमा ६ नम्बरको धुरामा र ९ नम्बरको भिमानमा ज्येष्ठ नागरिक दिवा भेटघाट केन्द्र निर्माण भएको छ ।  


कमलामाई नगरपालिका ९ भिमान स्थित ज्येष्ठ नागरिक दिवा भेटघाट केन्द्रका संयोजक सुरेश कुमार पौडेल ज्येष्ठ नागरिकहरूको दिनचर्या सहज बनाउन ज्येष्ठ नागरिक दिवा भेटघाट केन्द्रको निर्माण भएको बताउनु हुन्छ । कमलामाई नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर बनाईएको भेटघाट केन्द्र प्रभाबकारी रुपमा सञ्चालनमा आएको छ । ज्येष्ठ नागरिकहरुको लागि  दिवा भेटघाट केन्द्र, वाद्यवादन सहित भजन कीर्तन गर्ने, सुख, दुख, आफ्ना अनुभव साट्ने, नाचगान गरेर रमाईलो गर्ने सहायक घर र खुशी फर्काउने केन्द्र बनेको छ ।  


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

सरला सुनुवार सिन्धुली ।    गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो

RadioSiddhababa

प्रविधिको प्रयोग र बालबालिका 

कल्पना भुजेल सिन्धुली । कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई

RadioSiddhababa

ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

कल्पाना भुजेल सिन्धुली ।  त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर