‘कोही सुध्रन सक्दैनन् भने साफ पार्छु’

SITENAME

शनिवार, ८ बैशाख – सत्ताधारी दल एमाले र माओवादी केन्द्रको रस्साकस्सीबीच नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा नियुक्त सर्वेन्द्र खनाल संगठनका सदस्यलाई निर्देशन दिन व्यस्त छन् अहिले । २८ वर्षे प्रहरी सेवामा ‘दबंग प्रहरी’ को छवि बनाएका उनको कार्यकालको प्रारम्भ डिआइजी रमेश खरेलको राजीनामासँगै भयो । खरेलको राजीनामा सामान्य भने पनि उनले दुखेको चित्त भने लुकाउन सकेनन् शुक्रवारसँग । सत्ताधारी दलका नेताको आकांक्षा, प्रहरी संगठनको सुदृढीकरण र संघीय संरचनाको कार्यान्वयनको जोखिम बोकेर आइजिपीको कुर्सीमा पुगेका उनको आइजिपीको एक साताको अनुभव, लक्ष्य र योजनाबारे शुक्रवारकर्मी केपी ढुंगानाले गरेको अन्तरंग कुराकानी ।

 

प्रहरी महानिरीक्षक छान्न मन्त्रिपरिषद्को बैठक बसिरहँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
म आफ्नै कार्यालय (महानगरीय ट्राफिक प्रहरी महाशाखा) मा नियमित काममै थिएँ ।

मोबाइल त साह्रै व्यस्त थियो नि ?
अँ मोबाइल व्यस्तै थियो ।

फोन आइरहेकाले व्यस्त गराइरहेको थियो कि गइरहेकाले ?
(हल्का हाँस्दै) त्यो दिन आइरहेको कलले नै व्यस्त हो ।

कत्तिको तनाव हुँदोरहेछ ?
त्यत्ति धेरै तनाव हुँदोरहेनछ । 

पक्कापक्की नै थियो र ?
पक्कापक्की भन्दा पनि सरकारले गर्ने निर्णयमा म धेरै आशावादी थिएँ । सरकारबाट जे निर्णय आउँछ, त्यो स्वीकार्ने मनस्थितिमा भएकाले तनाव लिनुपर्ने केही थिएन ।

भनेपछि प्रहरी नेतृत्व छान्न प्रधानमन्त्री र गृहमन्त्री तनावमा थिए, तपाईं भने ढुक्क ?
उहाँहरुलाई तनाव भयो भएन, त्यो मैले थाहा पाउने विषय भएन । मैले भन्न सक्ने मेरो हकमा मात्रै हो । म वास्तवमै तनावमा थिइनँ ।

 

मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षकमा तपाईंलाई नियुक्त गरेको पहिलो सूचना कसले दियो ?
सन्देश त... (उनी केही समय अड्किए ।)


तपाईं नै हो, तपाईंको विकल्प छैन भन्ने खालका आश्वासन त आइरह्यो नै होला । सामान्य रुपमा यस्तो फोन कल आउँछन् नै । सरकारले निर्णय र्गयो भनेर औपचारिक जानकारी कसले दियो भन्न खोजेको नि ?

आधिकारिक रुपमा सरकारी प्रवक्ता सञ्चार राज्यमन्त्रीबाट आएको हो । त्यसभन्दा अगाडि तपाईंको राम्रो छ, सरकारले निर्णय गर्दैछ भन्ने त पहिल्यै आएको थियो ।

कसले त्यस्तो जानकारी दियो, भन्न मिल्छ ?
नाम त बिर्सिएँ अहिले ।
नियमित काम गरेर बसेको थिएँ । त्यस्तो प्रेसर बढेको थिएन भन्नु भए पनि आफ्नो वृत्ति विकासबारे निर्णय हुँदै गर्दा प्रेसर हुनु मानवीय स्वभावै हो । सरकारले

निर्णय र्गयो भन्ने सुनेपछि कत्तिको रिल्याक्स अनुभव भयो ?
प्रेसर अलिअलि त थियो । भइहाले हुन्थ्यो भन्ने त मनमा थियो नै । सुनेपछि निक्कै हल्का फिल भयो । एक किसिमको आनन्द आयो । खुसी लाग्यो ।

दौडमा प्रतिस्पर्धा भइरहेको बेला पहिला रिबन क्रस गर्ने धावकको मुहारमा झल्किने खुसी र चमकजस्तै भाव तपाईंको मुहारमा पनि आयो नै होला । कि हैन ?
त्यस्तो नै त हैन । कोही दौडिने व्यक्ति भ्याइन्छ कि भनेर पनि दौडिरहेका हुन्छन् नि ! हामीमा त हुनुपर्छ, हुन्छौं भन्ने आत्मबल हुनुपर्छ । भयो ठीक भो भन्ने दिमागमा आयो ।

गृह सचिवले फुली लगाइदिँदा तपाईंको मुहारको चमक भिन्न खालको थियो । धपक्कै बलेको देखियो तस्बिरमा । डिआइजीको फुली झिकेर आइजिपीको फुली लगाइदिँदै गर्दा मनमा के–के कुरा खेल्ने रहेछन् ?


कस्तो देखियो, त्यो त हेराइको कुरा होला । मलाई त मेरो अनुहार सामान्य नै लाग्यो । प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेको संगठनको नेतृत्वको अवसर पाउँदा गर्व महसुस त हुने नै भयो । सँगै जिम्मेवारीबोध पनि अनुभव भइरहेको थियो । अनुहारको भाव त्यही जिम्मेवारीबोधको संकेत होला । 

२८ वर्षे यात्राको दौरानमा प्रहरी निरीक्षकबाट प्रहरी महानिरीक्षकसम्म हुँदा धेरै पदको दज्र्यानीचिह्न पाइसक्नुभयो । दज्र्यानी चिह्न लगाउँदा धेरैको रमाइलो क्षण चैँ पहिलो नै हुने अनुभव सुनिन्छ । तपाईंको हकमा इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाउँदाको क्षण रमाइलो कि आइजिपीको ?
यी दुवै क्षणका आ–आफ्नै विशिष्टता हुन्छन् । तालिम सकिएपछि इन्स्पेक्टरको दज्र्यानी चिह्न अभिभावकले लगाइदिने प्रचलन थियो । मेरो दाइले लगाइदिनु भएको थियो । काँधमा फुली चढेपछि अब लोत पर्ने गरी तालिम गर्ने दिन गए, हप्काउने गुरुबाले पनि सलाम गर्ने दिन आएजस्तो उन्मुक्त अनुभव भएको थियो । त्यो उमेरअनुसारको सोच पनि थियो होला । अहिले आइजिपीको फुली लगाउँदा जिम्मेवारीबोध बढी भयो । आफूले पूरा गर्नेपर्ने जिम्मेवारी नै दिमागमा घुम्ने रहेछ त्यस्तो बेलामा ।

डिआइजीसम्म हुनुभएकै हो । आइजिपी भइसकेपछि माहोल कति बदलिने रहेछ ? एक साताको अनुभव कस्तो रह्यो ?
विल्कुल भिन्न हुनेरहेछ । निर्णय गर्नुपर्ने जिम्मेवारी पद भएकाले कामको प्रकृति र चाप छुट्टै हुने नै भयो । सरकारसँग समन्वय गरेर जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत हुनुप¥यो । हाम्रो जस्तो संरचनामा रहेर काम गर्दा कमान्डरको भूमिका अहं नै हुन्छ।

संगठनभित्रको त चेन अफ कमान्ड छ । व्यक्तिभन्दा पनि दज्र्यानी चिह्नलाई मान्ने हो । संगठन बाहिरको प्रतिक्रिया कस्तो आयो ?
‘ल है हामीले धेरै आशा गरेका छौँ, राम्रो काम गर्नुहोला’ जस्ता सन्देश आएका छन् । ‘केही गर्छ यसले’ भन्ने आशा र विश्वास देखेको छु । यो खुसी र आशाअनुरूपको काम गर्ने चुनौती छ ।

हिजो ‘सर्वेन्द्र खनाल हुँदैहुन्न’ भन्नेहरु युटर्न भएर अहिले ‘उनीबाहेक अर्को विकल्प नै थिएन’ भनिरहेको अनुभव त गर्नुभयो होला नि?
यो बाहिरबाट हेर्दा सर्लक्क देखिने विषय हो । संगठन बाहिरकाले मेरै सामु आएर कसैले नभनेकाले अहिले उनीहरुको व्यवहार कस्तो छ, त्यसबारे मैले धेरै अनुभव गर्न पाइनँ । संगठनभित्र केही नोटिस भएको छ । व्यक्तिअनुसार च्वाइस फरक हुनसक्छ तर सरकारको निर्णय आइसकेपछिको अवस्थामा व्यक्तिभन्दा संस्थागत स्वार्थ महत्त्वपूर्ण हुन्छ । अब पनि फलानालाई आइजिपी बनाउँछु भन्दै कोही हिँड्छ भने ऊ तत्काल सुध्रनुपर्छ, नत्र उसैलाई हानि हुन्छ ।

भनेपछि तपाईंबाहेक अन्यलाई आइजिपी बनाउन हिँडेका प्रहरीको खैरियत छैन अब ?
खैरियत छैन नभनौं । प्रहरीजस्तो सुरक्षा संगठनभित्र यो या त्यो भनेर गुटबन्दी हुनुहुन्न । यसमा म सचेत छु । सरकारले निर्णय गर्नु अगाडिसम्म कसले के भूमिका खेले, त्यो मेरो प्राथमिकताको विषय पनि रहेन तर सरकारको निर्णय आइसकेपछिको अवस्थामा पनि यो या त्यो भन्ने देखियो भने त्यो संगठनले सहने विषय हैन । व्यक्तिको विषय सरकारले टुंग्याइसक्यो । अब संस्थागतरुपमा काम गर्नुपर्छ भन्ने धारणा हो । हिजोका दिनमा भएको गलत अभ्यासले संगठनको साख गिरेको त सत्य नै हो नि ! त्यसैले तत्काल सुध्रिनुपर्छ भनेको हो । कोही सुध्रन सक्दैनन् भने यो प्रवृत्ति त साफ पार्छु म । बायस्ड भने हुन्न तर कसैले व्यवहार सुधार्न सक्दैन भने त्यो व्यक्ति यो संगठनमा रहन्न । यो त क्लियर हो ।

कुन पदमा पुगेपछि ‘अँ म पनि आइजिपी हुनसक्छु है’ भन्ने लागेको थियो ?
राम्रो काम गर्दै गयो भने राम्रै हुन्छ भन्ने त संगठनमा प्रवेश गरेदेखिकै सोच हो । संगठन प्रमुखसम्म पुग्न प्राविधिक पाटाहरु पनि हुन्छन् । काठमाडौंमा एसपी भएर काम गर्न थालेपछि राम्रो काम गर्दै अगाडि बढ्ने हो भने संगठनको नेतृत्वको अवसरसमेत पाउन सक्छु भन्ने लागेको थियो । 

प्रहरी संगठनभित्र गुटबन्दी रहन्न भन्नुभयो । संगठनभित्र अस्थायी मात्रै हैन पूर्व प्रमुख, राजनीतिक दल केन्द्रित स्थायी गुटसमेत जसले आइजिपीलाई काम गर्न सधैँ अप्ठ्यारो पार्छन् ती कसरी निस्क्रिय बनाउनुहुन्छ ?
ती कुनै पनि रहन्नन् । संगठन प्रमुखले चाहेका, नीतिगत काम हुने हो । म त यसको, म त उसको भन्ने व्यक्तिका लागि कुनै गुन्जायस हुन्न । संगठनले तोकेको काम गर्नुप¥यो, जिम्मेवारी पूरा गर्नुर्पयो यत्ति हो।

भन्नलाई त सजिलै छ । हिजोका आइजिपीहरुले पनि भनेका हुन् तर आफ्नै ब्याचका साथी, सरकारमा रहेका दलबीचको टकराव र शक्तिकेन्द्र रिझाउन माहिर समूहका कारण कामै गर्न नसक्ने अवस्था पनि देखिएकै हुन् । साफ चैँ कसरी पार्नुहुन्छ भन्ने हो ?
मैले देखेको हो । तपाईंले भनेको पनि सही हो । कमान्डर आफैंमा केही कमजोरी भए मात्र यस्तो हुने हो । मैले निर्देशन दिन सकिनँ, निर्णय गर्न सकिनँ भने त अरुले खेल्छन् नै । यसो भनिरहँदा यस अगाडिका कमान्डरले गरेनन् भनेको हैन । त्यस्तो प्रवृत्ति संगठनमा छ भने उनीहरुले मेरो कार्यकालमा त्यस्तो नसोचे हुन्छ । सुझाव जसको पनि लिनुपर्छ तर निर्णय गर्ने त मैले हो । 

भनेपछि प्रहरी संगठनमा रहेको गुटबन्दीको दीर्घरोग समाप्तै हुन्छ हैन त ?
म गर्न दिन्नँ र रहन पनि दिन्नँ ।

आफ्ना ब्याची मिलाउन नसक्दाका अप्ठ्यारा त देख्नुभयो होला ? आफ्ना ब्याचीलाई कसरी मिलाएर लैजाने योजना छ ?
संगठन प्रमुख भएपछि ब्याची भन्ने नै हुन्न । कमान्डमा चल्ने संगठनमा दिइएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने हो । अब त्यसमा खेल्ने मौका रहन्न । यो फोर्समा रहँदाको जुन चेन अफ कमान्ड छ, त्यसमा बस्नुपर्छ । म ब्याची हुँ भनेर एक्ट्रा प्रिभिलेज लिने सोच कसरी रह्यो मै अचम्ममा छु । जुन ठाउँमा आफूले जे गर्नुपर्ने हो, त्यही गर्ने हो । हिजो सँगै थियौं, सँगै बस्यौं । ठीकै छ तर अब दर्जाअनुसार तोकिएको जिम्मेवारी पूरा गर्नुपर्छ ।

यो भन्दाभन्दै पनि यस अगाडिका केही आइजिपीको कार्यकाल हेर्दा त ब्याचीहरुले चाहे भने संगठन प्रमुखलाई रुवाउने क्षमता राख्ने रहेछन् भन्ने त देखिएकै हो नि ?
अब हिजोका दिनमा उहाँहरु किन रुनुभयो त्यो त मलाई थाहा भएन । मैले मेरो दायित्व पूरा गर्ने हो, अन्यले दर्जा अनुसारको जिम्मेवारी पूरा गर्ने हो । यसमा तलमाथि हुन्न । म अरुलाई पनि रुवाउन्नँ, म पनि रुन्नँ ।

एकै तालिममा बसेकाहरुबीच आत्मीय सम्बन्ध पनि हुन्छ भन्छन् । साथीभाइको सम्बन्ध बनेको हुन्छ, त्यसको प्रभाव त पर्ला नि ?
प्रहरी महानिरीक्षकको चयनताका साथीभाइको सम्बन्ध कहाँ रहन्छ भन्ने त देख्नुभयो होला नि ! कसले, कता के–के गरे भन्ने त थाहा होला । म त्यसमा विस्तृत रुपमा जान्नँ । ब्याची मात्रै हैन, मैले संगठनका सबै सदस्यलाई हेर्नुपर्छ, हेर्छु ।

भनेपछि संगठनमा अब एआइजीले आइजिपी हल्लाएको दृश्य देखिन्न ?
कल्पनै नगरे हुन्छ । एआइजीलाई हल्लाउने आइजिपीले हो । पद अनुसारको जिम्मेवारी वहन गर्नुर्पयो । मेरो कार्यकालमा संगठन प्रमुखलाई कसैले हल्लाउने कल्पना नगरे हुन्छ । त्यो हुन्न ।

पक्का हो त ?
पक्का हो ।

यो रेकर्ड सुरक्षित राखे हुन्छ ?
राख्नुस् । बोलेको पूरा गर्छु ।

एकातिर तपाईं आइजिपीमा नियुक्त हुनुभएको समाचार आउँदा डिआइजी रमेश खरेलको राजीनामाको समाचार पनि आयो । कस्तो लाग्यो ?
उहाँ राम्रो साथी हो । संगठनमा पहिला पनि हरेक दर्जामा राम्रो काम गर्दै जानुपर्छ भन्ने नै हो । अब उहाँको पनि व्यक्तिगत महत्त्वाकांक्षा र चाहना होला । त्यतातर्फ त्यत्ति गइनँ म । चित्त नबुझेमा पेन्सन पाकिसकेकाले राजीनामा दिनु पनि सामान्य नै हो ।

खल्लो त लाग्यो होला नि ?
नढाँटी भन्दा खल्लो पनि लागेन । बसेर काम गर्दा राम्रो हुन्थ्यो । आखिर बनाउने त संगठन नै हो । नागरिककै सेवा गर्ने हो । हुन पाए हुन्थ्यो भन्ने त लागिहाल्छ तर म यही बन्छु र हुन्छु भनेर म कहिल्यै हिँडिनँ । सरकारले चयन र्गयो । अब यसमा उहाँ (रमेश खरेल) ले किन राजीनामा दिनुभयो, उहाँको केही अप्सन छ कि त्यो थाहा भएन ।

एकातिर सुरक्षा संगठनमा न चाहेर प्रवेश हुन्छ न चाहेर छाड्न सकिन्छ भन्ने सुनिन्छ । अर्को्तिर राजीनामा दिन पाएको हुन्न, स्विकृति हुन्छ । विरोधाभाष भएन र ?
यो त रोक्नुपर्छ तर हालसालैको प्रसंगसँग जोड्न खोजेको हो भने यो बारेमा निवर्तमान प्रहरी प्रमुखज्यूलाई सोध्दा उपयुक्त जवाफ आउन सक्छ । राजीनामा आएपछि उहाँले के भो भनेर सोध्नुभएको भन्ने मैले सुनेको छु । त्यसपछि राजीनामा मन्त्रालय पठाउनु भएको हो ।

कार्यभार सम्हालेपछि उहाँसँग कुराकानी भयो ?
सञ्चारमाध्यमले प्रतिक्रिया सोध्दा संगठन नछोडेको भए हुन्थ्यो, मिलेर काम गर्न सकिन्थ्यो भनेको हुँ तर प्रत्यक्ष कुरा भएको छैन ।

अब योजनातिर जाऊँ न त । २८ वर्ष बिताइसकेको संगठनमा अझै बुझ्न त बाँकी नहोला ? तत्कालीन, अल्पकालीन र दीर्घकालीन के–के योजना छन् ?
विविध घटनाक्रमले संगठनमा कार्यरत जनशक्तिको मनोबल खस्किएको छ । नागरिकमा अविश्वास उत्पन्न भएको छ । यो हटाउनु मेरो तात्कालिक काम हो । यसमा काम सुरु गरिसकेको छु । प्रहरीको कार्यप्रणालीमा सुधार आवश्यक छ । सर्वसाधारणले अनुभव गर्ने गरी प्रहरीको कार्यशैली र व्यवहार सुधार गर्ने कार्ययोजना बनाइसकेँ । एक साताभित्र त्यसको प्रभाव देखिन्छ । भोलिको प्रहरी संगठन कस्तो हुने भन्ने नीति बनाउने चरण हो अहिले । प्रादेशिक र संघीय संरचना बन्दैछ । प्रहरी संगठनले पाएको जिम्मेवारी अनुसारको दायित्व निर्वाह, प्रादेशिक संरचना र संघीय संरचनाको कार्यान्वयन र सरुवा–बढुवा अल्पकालीन हुन् । तल्लो तहसम्मका प्रहरी कर्मचारीलाई ‘यो संगठन मेरो हो, यसले मलाई हेर्छ’ भन्ने आत्मबल बढाउनुपर्ने अवस्था छ । सेवा सुविधामा पुनर्विचार, ड्युटीको समय, सरुवा र बढुवा पारदर्शी प्रणाली निर्माण आवश्यक छ । यसका लागि नीति बनाउन जरुरी छ । अन्य निकायसँग समन्वय आवश्यक छ । अपराध नियन्त्रण रणनीति पुनरावलोकन र निर्माण तथा कार्यान्वयन दीर्घकालीन योजना हुन् । अपराध गरेर अपराधी भाग्दा प्रहरी आफैं भाग्ने हैन । जनताले दुःख पाइरहेको टुलुटुलु हेरेर बस्ने हैन । प्रहरी प्रहरीजस्तै हुनुपर्छ ।

प्रहरी प्रहरीजस्तै हुनुपर्छ भनेको ?
बहानाबाजी चल्दैन भनेको हो । यो भएन, त्यो भएन भन्ने वातावरण हटाउने मेरो जिम्मेवारी हो । तोकिएको जिम्मेवारी बहानाबाजी नगरी पूरा गर्नु संगठनका सदस्यको जिम्मेवारी हो । सर यस्तो भएन, उस्तो भएन भन्नेका लागि स्थान रहन्न । कठोरताका साथ जिम्मेवारी पूरा गर्नैपर्छ।

कठोरता भनेको इन्काउन्टरसम्म त होला नि, हैन ?
कठोरता भनेको काँ इन्काउन्टर मात्र हुन्छ ? कठोरता भनेको नियम कानुनको परिधिभित्र रहेर सिलसिलेवार रुपमा जुन बिन्दुसम्म पुगेर जिम्मेवारी पूरा गर्नुपर्ने हो, ती सब गर्नुपर्छ भनेको हो ।

यो भनेको पनि गोली चलाउनुपर्ने अवस्थामा गोली चलाउन हात नकमाऊ भनेको नै त हो नि, हैन र ?
विवेकपूर्ण रुपमा शान्तिसुरक्षा बहालीका लागि जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म पुग्न नहच्किने भनेको हो । 

निभाएको जिम्मेवारी अनुसारको वृत्तिविकास र अवसर पाउन पनि शक्तिकेन्द्रको ढोकामा पुग्नुपर्ने अवस्था छ । यस्तो वातावरणमा सकिन्छ भनेका काम गर्न ?
नसकिने भन्ने के नै छ र ? सकिन्छ । संगठन प्रमुखले संगठनका सदस्यको मन जितेर जिम्मेवारी अनुसारको मूल्यांकन र अवसरको ग्यारेन्टी गर्नसक्यो भने यो आफैं हट्दै जान्छ । नेताको ढोकामा जाँदै नजाऊ पनि म भन्दिनँ । पहिला संगठनमा भन्ने हो, जायज माग पनि सुनुवाइ भएन भने हरेकले विकल्प खोज्छन् नै । त्यो विकल्प खोज्नै नपर्ने वातावरण बनाउने हो भने यो समस्या सक्किइहाल्छ । तर संगठनलाई जानकारी नै नदिने, संगठनको हितविपरीतको ‘प्रेसर क्रिएट’ गर्ने जस्ता गतिविधि स्वीकार्य हुन्नन् ।

अवसरका लागि फोन हनाएर दबाब दिनेलाई कसरी तह लगाउनुहुन्छ ?
आवश्यक क्षमतै नभएकाले जति दबाब बढाए पनि उसको काम हुन्न । कालोसूचीमा पर्ने मात्र हो । क्षमताअनुसारको जिम्मेवारी संगठनले दिन्छ । अनावश्यक फोन डायल गराउन आवश्यक छैन । त्यसरी काम पनि हुन्न ।

संघीय प्रहरी ऐन बन्दैछ । त्यसमा प्रहरीको अवकाससम्बन्धी प्रावधानमाथि समेत छलफल चलिरहेको छ । अवकासका तीन प्रक्रियामध्ये ३० वर्षीय सेवा अवधिबारे पनि छलफल भइरहेको रहेछ । यसमा तपाईंको धारणा के छ ?
संगठनका सबै सदस्यको भलाइ जेमा हुन्छ, त्यही गर्ने हो । भर्खर नेतृत्वमा पुगेको छु । यसबारे अध्ययन गर्दैछु । जे गर्ने हो, त्यसको आधार बनाउनुपर्छ । त्यसपछि मात्र भन्न सक्छु ।

गृह मन्त्रालयमा यसबारे छलफल भइरहेको छ । गृहमन्त्रीले बोलाएर ३० वर्षीय राख्ने या हटाउनेबारे एस र नो मा प्रश्न सोध्दा तपाईंको उत्तर के हुन्छ ?
यसबारेमा अध्ययनकै क्रममा रहेकाले अहिले एस या नो भन्न सक्दिनँ ।

चलचित्र पुरस्कार वितरण अनि पुस्तक विमोचनमा समेत देखिनुहुन्छ । फिल्म र पुस्तकमा बढी नै रुचि छ हो ?
फिल्म त त्यत्ति हेर्दिनँ तर पुस्तक भने सकेसम्म पढ्छु । आफूलाई अपडेट गराउन पुस्तक पढ्न जरुरी छ । 

अन्त्यमा, प्रहरी नेतृत्व परिवर्तन हुँदा प्रहरीको सेवा प्रवाहमा भएको परिवर्तन अनुभव गर्न कति समय कुर्नुपर्छ ?
एक हप्ता । 
पक्का ?
पक्का
शुभकामना ।
धन्यवाद ।

नागरिक न्युज अनलाईनबाट साभार । 
 

प्रतिकृया दिनुहोस
SITENAME

केन्दीय तथा प्रदेश सरकारसँग मेरो माग सिन्धुलीगढीलाई व्यवस्थापन गर्नुछ ः कमलामाई नगपालिका प्रमुख खत्री 

जेष्ठ ३१ । सिन्धुली ।  जिल्ला सदरमुकाम रहेको भेगका तत्कालिन २ वटा गाविसहरु सिद्धेश्वर र भीमानको भूगोल र जनसंख्यालाई एकिकृत गरी वि.सं. २०५३ सालमा